त्यो “बैशाख १२”
Posted on: Jun 07, 2018

सन्तोषी सुनार
बैशाख १२ पोखरा । त्यही धर्ती आज फेरि फरक लाग्यो त्यही हावाले आज फेरि पोलेजस्तो लाग्यो वरपरका तिनै रुखहरु आज फेरि ढल्न लागेजस्तो लाग्यो कताकता आमा… बाबा….भन्दै चिच्याईरहेको आवाज सुनेजस्तो लाग्यो….लौन यो आकाश आज फेरि अध्यारो भएजस्तो लाग्यो
हो आज फेरि याद आयो त्यो दिन अनि तिमी……भयावह चिच्याहटसंगै तिमीसंग छुटेका हातहरु, आकाशलाई छानो बनाई तिमीलाई कल्पिएका रातहरु… यो नेपाल प्रकृतिको सुन्दर सिर्जना थियो, जे दियो हामीलाई प्रकृतिले दियो तर कठै त्यो “बैशाख १२” कति सजिलै प्रकृतिले हामीलाई जितिदियो । आमाबाबासंग छुटेका ति हातहरु, आफ्नासंग छुटेका ति साथहरु फेरि कहिल्यै जोडिएनन् । फरक फरक दिन आफ्नो जन्मदिन मनाईरहेका करिब ९००० मानिसको मृत्युको दिन एउटै बन्न पुग्यो । करिब २२ हजारले जिवनको सबैभन्दा डरलाग्दो क्षण सामना गर्न पुगे र करोडौ मुटुहरुको ढुकढुकीमा पिडा सुनिन्थ्यो ।
फोन गर्दा फोन लागेन गोगंबुबाट सिधै बानेश्वर पुग्दा बिहान सकुशल छाडेका श्रीमती छोराछोरी भगवानको घर पुगिसकेका थिए, कहिल्यै नफर्र्किने गरि । बिवाह भएको भोलिपल्ट माईत फर्किन सेलरोटी पकाइरहदा क्षणभरमै श्रीमान् गुमाउनु परेको अनिता परियारको कथा अनि उनी जस्तो उदाहरण थुप्रै बन्न पुगे । हाँसीखुसी बसेको बस्ती पनि त्यो भुकम्पले देख्न नसकि तहसनहस पारिदियो बारपाकलाई अनि आफुले संज्ञा पायो गोर्खा भुकम्प भनी । नभन्दै दैव आयो अनि टप्प टिपि लग्यो आफुलाई मन परेका ति फुलहरुलाई । मृतआत्मा त पुगे त्यो स्वर्ग सजाउन तर गाह्रो भयो जो बाँचेर यो सारा हाहाकार देख्नुपर्यो । आफ्नालाई भगवानले अनायासै छुटाईदियो अनि जे चिज आफ्नो भनी गर्व गथ्र्यौ त्यसलाई पनि मायै नमानी क्षणभरमै ढलाईदियो त्यो भुकम्पले । भनिन्छ आशुको मुल्य हुदैन, लाखौ करोडौको क्षति भयो तर त्यो भन्दा पनि यहाँ प्रत्येक नेपालीको मन रोयो जब नौतले त्यो धरहरा भुँइृमा बिलाई गयो।
कसैले हात गुमाए कसैले साथ गुमाए कसैले खुट्टा गुमाए तर त्यो विपद्मा नेपालीले एकअर्काको हात समाए । हो त्यही दिनले सिकायो हामी सबैको साझाँ छानो आकाश अनि साझा घर धर्ती । कोही नेपालमै एक ठाउँबाट अर्को ठाउँको नेपालीलाई सहयोग गर्न जुटे त कोही विदेशमै पनि छटपटिएर मनदेखी नेपाललाई सहयोग गर्न जुटे । कैयौ नेपाली संगै साँस्कृतिक सम्पदालाई गुमाएको त्यो दिन धेरै गुमायौ र केही सिक्ने मौका पनि पायौँ । प्राकृतिक प्रकोप आफैमा निर्दयी हुन्छ थाहा थियो तर लापरबाही हामी आफ्नै थियो कमजोर भुसंरचना कैयौ नेपालीको मृत्युको कारण बन्न पुग्यो समयमा मर्मत नगरिएका सम्पदाले नै थिचाएर मार्न पुग्यो । तर जे हुनु थियो भैसक्यो त्यो विपद्लाई विदेशमा रहेर पनि सक्दो सहयोग गर्ने ति नेपाली हातहरु, छिमेकी राष्ट्रहरु अनि राष्ट्रको लागी अहोरात्र खटिरहने धुर्मुस सुन्तलीलाई सलाम ।
प्रकृतिसंग खाएथ्यौ हार, आज फेरि याद आयो अनि सम्झिन मन लाग्यो ति दिनहरु तर कहिल्यै फर्कि नआओस् त्यो “बैशाख १२” ।

Comments