उरुग्वे भर्सेस इजिप्ट : रसियाको खेलले दबाब, खेल्लान् सलाह ?
Posted on: Jun 15, 2018

१ असार, काठमाडौं । विश्वकपमा नेपाली समयअनुसार शुक्रबार बेलुका पौने ६ बजे समूह ‘ए’ का उरुग्वे र इजिप्टबीच खेल हुँदैछ । पहिलो खेलमा रसियाले साउदी अरेबियालाई ५-० ले हराएपछि अर्को चरणको सम्भावनाबारे भिन्न आँकलन हुन थालेका छन् । फिफा वरियतालाई हेरेर ७० औं स्थानमा रहेको रसियालाई कमजोर सोचिए पनि घरेलु मैदानमा उसको उत्कृष्ट गोलले उरुग्वे र इजिप्टमाथि दबाब बनेको छ ।

सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्ट यो पटक लयमा देखिएको छ । स्टार खेलाडी मोहम्मद सलाहका कारण पनि चर्चामा रहेको इजिप्टको अघिल्लो चरणमा जाने सम्भावना पनि बलियो छ । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएर मैदान छाडेका सलाह अहिले फिट रहेको र पहिलो खेलमै मैदान प्रवेश गर्ने सम्भावना बलियो रहेको प्रशिक्षक हेक्टर कुपरले बताएका छन् ।

‘उनी पहिलो खेलमै खेल्न सक्छन् भन्नेमा म लगभग विश्वस्त छु । केही अप्रत्याशित परिस्थिति आएन भने उनी उरुग्वेविरुद्ध खेल्ने छन्’ कुपरले भने, ‘सलाहले निकै राम्रो गर्ने छन् । जटिल समस्या पनि निकै छिटो गरेर ठीक भयो ।’ उनले सलाह उत्कृष्ट रहेको र उनी मैदान र्फकने विश्वास गरिरहेका बेला आफूहरु सलाहमा मात्रै निर्भर हुन नहुने पनि बताए ।

अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ । फिफा वरियतामा ४५ औं स्थानमा रहेको इजिप्टको यसअघिका विश्वकपको नतिजा भने सम्झनलायक छैन ।

उता उरुग्वेको विश्वकपमा आफ्नै गर्विलो इतिहास छ । यसपटक विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा ब्राजिल पछिको बलियो टोली उरुग्वे देखिएको थियो ।

सन् १९३० र १९५० गरी दुईपटक विश्व विजेता बनेको उरुग्वे गएको ब्राजिल विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो । यसपटक अनुभवी खेलाडीसँगै नयाँ स्टारहरुले पनि उरुग्वे टिम बलियो छ । डिफेन्डर डिएगो गोडिनसँगै स्ट्राइकरहरु इडिसन काभानी र लुइस स्वारेज इजिप्टका लागि प्रमुख चुनौती हुन् ।

सन् १९७० पछि विश्वकपको आˆनो पहिलो खेलमा उरुग्वे विजयी भएको छैन । ४८ वर्षको यो समयमा उरुग्वेले विश्वकपको आˆनो पहिलो तीन खेल बराबरी खेलेको छ । तीन खेल हारेको छ ।

सम्भावित सुरुवाती ११

इजिप्ट – मोहम्मद एल सेन्नावी, अलि गर्ब, अहमद हेगाजी, अहमद फाथी, मोहम्मद अब्देल सफी, तारेक हमेद, मोहम्मद एल नेनी, मोहम्मद हसन, अब्दुल्लाह सइद, रामादन सोब्ही, मरवान मोहसेन

उरुग्वे – फर्नान्दो मुस्लेरा, गुलेर्मो भारेला, जस मारिया गिमेन्ज, डिएगो गोडिन, मार्टिन क्यासिरेस, नाहिटन नान्देज, माटियस भेसिनो, रोर्डिगो बेन्टानकर, जर्जियन डि एरेसकेता, इडिसन काभानी, लुइस स्वारेज

Comments