बलात्कृत युवतीको पीडाः न्यायका लागि लड्दालड्दै आफ्नै जिन्दगी भताभुंग भयो
Posted on: Sep 14, 2018

२९ भदौ, काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमाबुबा न्यायका लागि काठमाडौं आएका छन् । थाहा छैन, उनीहरुले कहिले न्याय पाउँछन् ? तर, बलात्कारका घटनामा अदालतबाट न्याय पाउन जति गाह्रो छ, पीडितका लागि बाँकी जीवन कम संघर्षपूर्ण छैन । यसको दृष्टान्त हुन्, झापाकी अनिता । झापा, कन्काईकी अनिता (नाम परिवर्तन) १५ असोज २०७० मा छिमेकी नेत्रप्रसाद तिम्सिनाबाट बलात्कृत भएकी थिइन् । पाँच वर्षको संघर्षपछि बलत्कारीलाई कठघरामा जाक्न सफल भइन् तर, उनको आफ्नै जिन्दगी भताभुंग बनेको छ ।

बाबुआमा पहिल्यै बितेका थिए । घटनापछि परिवारका सदस्यहरु पनि विस्तारै टाढिए । पाँच जना दाजुभाइ–दिदीबहिनी भए पनि अहिले उनको साथमा कोही छैन । समाजले आफूलाई हेर्ने नजर पनि बदलिएको उनी गुनासो गर्छिन् ।नशालु पदार्थ खुवाएर जबरजस्ती गर्न थालेपछि प्रतिकार गर्दा अनिताको हातमा लागेको चोट अझै राम्रोसँग निको भएको छैन । हातको भन्दा ठूलो चोट मनमा छ । न्यायका लागि एक्दै लड्दा–लड्दै उनी झण्डै सडकमा आइपुगेकी छन् ।‘पहिले सिलाईकटाई गरेर गुजारा गर्दै आएकी थिएँ’, उनी भन्छिन्, ‘त्यो घटनापछि हातको चोटले गर्दा राम्रोसँग काम गर्न सकेकी छैन । दुई छाक टार्न पनि गाह्रो भएको छ ।’

त्यो कालो दिन

अनिताको परिवार भर्खरभर्खर पहाडबाट झरेको थियो । अविवाहित उनी दाजुभाइसँग कन्काई आएकी थिइन् । सिलाई बुनाईको काम गर्दै गुजारा चलाइरहेकी उनीसँग छिमेकीको भेषमा नेत्रप्रसाद नजिकिए । साहारा दिने वाचा गरे ।तर, साहारा दिने वाचामाथि विचारसम्म गर्न नपाउँदै नेत्रप्रसाद आफैं जाइलागे । १५ असोज २०७० नसालु पदार्थ खुवाएर तिम्मिनाले उनीमाथि जबरजस्तीकरणी गरे ।प्रतिकार गर्दा हातमा चोट लाग्यो । उनी न्याय खोज्दै प्रहरी चौकी पुगिन्, तर, उल्टै मिलापत्र गराउन खोजियो । प्रहरी कार्यालयमा उजुरी दर्ता हुन पनि महिना दिन लाग्यो ।‘एक महिनापछि प्रहरी चौकी सुरुङ्गामा मुद्दा दर्ता त भयो’, पीडित अनिता भन्छिन्, ‘तर, त्यतिबेलासम्म तिम्सिना भागिसकेका थिए ।’अभियुक्त फरार भएकै अवस्थामा जिल्ला अदालत झापाले १२ मंसिर ०७३ मा जबरजस्तीकरणी मुद्दामा तिम्सिनालाई ५ वर्ष कैद र उनलाई महिला तथा बालबालिका कार्यालयबाट ३० हजार रुपैयाँ क्षतिपूर्ती पाउने ठहर गर्‍याे ।उनी केही राहतको सास फेरिन् । तर, आफ्नो जीवन बर्वाद बनाउने तिम्सिनालाई अदालतको दिएको सजाय चित्त बुझेन । उच्च अदालत, बिराटनगर गुहारिन् ।उच्च अदालतले १५ जेठ ०७५ मा जिल्लाकै आदेशलाई सदर गर्ने फैसला सुनायो ।

जिल्ला हुँदै उच्च अदालतले समेत फैसला सुनाइसक्दा पनि पीडिक तिम्सिना फरार नै थिए । इलाकादेखि जिल्ला प्रहरी कार्यालय, झापासम्म धाइन् तर, केही लागेन ।

काठमाडौंले दिलायो न्याय

मुद्दा धाउँदा धाउँदै घर परिवारका सदस्यहरु पनि टाढिएपछि तिम्सिना भने शक्तिशाली देखिए । अप्रत्यक्ष रुपमा ‘तेरो शाखा सन्तानलाई मार्छु’ भन्दै धम्क्याउन थाले ।जिल्लामा केही नलागेपछि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) आइन् । दुई हप्ता अघि महाराजगञ्जस्थित ब्यूरोमा आएकी उनले ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणसिंह खड्कासामू आफ्नो पीडा सुनाइन् । खड्काले तत्काल सीआईबीको एक टोलीलाई अदालतबाट समेत दोषी ठहर भइरहेका तिम्सिनाको खोजीमा खटाए । ‘उनी लुकीछिपी पूर्वी पहाडी जिल्लाहरुमा बस्दै आएको खुल्यो’, ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराई भन्छन् । प्रहरीले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका ग्रामिण इलाकालाई आधार बनाएर खोजीलाई तीव्र बनायो । ‘उनी खसी बोका किन्ने र बेच्ने काम गरेर तेह्रथुममा बस्ने गरेको खुलेको थियो’ , भट्टरार्इ भन्छन्, ‘उनी भेष बदलेर अन्य जिल्लामा पनि घुम्ने गरेको फेला परेपछि हामीले निगरानी बढायौं ।’ सीआईबीको टोलीले निगरानी बढाएको चाल पाएपछि तिम्सिना भागेर इलाम पुगे । ‘गाडी फेर्दै हिँडेका उनी चौथो गाडीबाट मात्रै समातिए’, उनले थपे ।

सीआईबी टोलीले जिल्ला प्रहरी कार्यालय, इलामको सहयोगमा उनलाई इलामबाट समातेको थियो । उनीले आफ्नो कसुर पनि स्वीकारेका छन् भने फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा पेश गरी इलाम कारागार चलान गरिएको छ ।

समाज पनि अन्यायी भयो

काठमाडौंसम्म धाएर भएपनि अनिताले आफ्नो जीवन बर्वाद पार्नेलाई जेल त पठाइन् । तर, त्यसबेलासम्म उनको जिन्दगी भताभुंग भइसकेको थियो । सिलाई कटाईको काम हातमा लागेको चोट र अड्डा अदालत धाउँदै धाउँदै लगभग छुट्यो । दाजुभाइ टाढिए । रकम अभाव भएपछि आफन्तसँग हात थापिन् । अहिले हात अलि निको भएपछि निताले सिलाई बुनाईको कामलाई फेरि निरन्तरता दिएकी छिन् । तर, पहिले जस्तो सिलाइका लागि मानिसहरु आउँदैनन् । समाजले उल्टै आफैंलाई गलत नजरले हेर्ने गरेको उनको गुनासो छ ।

Comments