​फुकुओका निर्मल पोखरीको २० औं वार्षिकोत्सव
Posted on: Nov 17, 2018

रोशन अधिकारी –
मंसिर १ पोखरा । 
फुकुओका निर्मल पोखरी माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सव तथा पुनर्मिलन कार्यक्रम शनिबार एक समारोहका विच सम्पन्न भएको छ । 
जापानको फुकुओका–नेपाल बाल शिक्षा प्रर्वद्धन कार्यक्रमको सहयोगमा स्थपना भएको विद्यालयको बार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरे । उनले सो अवसरमा बोल्दै, ‘पोखराको वडा नम्वर २१ निर्मल पोखरीमा अवस्थीत यस विद्यालय जापान र नेपालको मैत्री चिनो भएकोे र यसलाई शैक्षिक गुणस्तर हिसावले पनि यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।’ 

पोखराबाट नजिकै रहेको निर्मलपोखरीको विकासमा आफ्नो भूमिका रहने बताउँदै हरेक हिसावले गाँउमै सेवा सुविधा पुगी सकेकाले अव निर्मलपोखरीका बासिन्दा बसाई सरेर नजिकैका सहरमा जान पर्ने अवस्था नरहेको बताए । उनले गाँउबाट बसाई सरेर गएकाहरुलाई पनि पुनः गाँउ फर्कन आग्रह गरे । 

फरक प्रसंगमा बोल्दै मन्त्री अधिकारीले अरुलाई गालि गलौज गर्ने प्रवृतिको अन्त्य गरी आफ्नै श्रम, मेहनतमा बाँच्न पर्नेमा जोड दिए । 
कार्यक्रमका विशेष अतिथी जापानी नगरिक चुगानी केन्जीले विद्यालय निर्माण समयको बारेमा स्मरण गर्दै उनले विद्यालयले दुई दशकको समयमा पाएको सफलताले आफू उत्साहीत रहेको बताए । उनले अझ विद्यालयले कमाएको सफलतालाई आगामी दिनमा निरन्तरता दिन पर्नेमा समेत जोड दिए । 
कार्यक्रममा वडा अध्यक्ष खगराज आचार्यले अवको शिक्षा पद्दतीमा परिवर्तन आवश्यक रहेको औल्याउँदै युग सुहाउँदो शिक्षाको आवश्यकता रहेको जिकिर गरे । 
फुकुओका– नेपाल बाल शिक्षा प्रर्वद्धन कार्यक्रमका अध्यक्ष सिनुकोमा मिच्यूहिकोले विद्यालयले स्थानियमा शैक्षिक क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको आफूले महसुस गरेको दावी गर्दै आगामी दिनमा यहि छापलाई निरन्तरता दिन आग्रह गरे । 

कार्यक्रममा जापानी नागरिक यामासाकी हिरोतारो, शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी लायन्स अध्यक्ष मुना थापा, विद्यालयका संस्थापक अध्यक्ष कमल मोहन पौडेल लगायतले बोलेका थिए ।

गुठी संचालक समितिका अध्यक्ष मुक्तिनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रध्यानाध्यापक  खिमलाल भण्डारीले गरेका थिए ।
साथै सोही अवसरमा विद्यालयमा कक्षागतरुपमा प्रथम द्वितिय र तृतिय हुने छात्र–छात्रालाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयले आयोजना गरेका अतिरित्त क्रियाकलापमा उत्कृष्टलाई पुरस्कार वितरण गरिनुका साथै  विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । 

Comments