स्याङ्जाका विद्यार्थीले बनाए बाँदर धपाउने यन्त्र
Posted on: Jun 20, 2019

असार ५  स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर धपाउने यन्त्र निर्माण गरेको छ । यन्त्रको परीक्षण सफल भएसँगै बाँदरले सताएर हैरान वालिङका स्थानीय कृषकलाई राहत मिल्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित इनोभेसन सेन्टरका प्रशिक्षार्थीले बाँदर धपाउने यन्त्र (मङ्की रिटेलर डिभाईस) निर्माण गरेका हुन् ।

नेपाल स्मार्ट इनोभेसन रोबो जुनियर कार्यक्रम अन्तर्गत प्रशिक्षित विद्यार्थीहरुले बाँदर धपाउने यन्त्र निर्माणमा सफलता पाएका हुन् । एउटा बाँदरमा गरिएको परीक्षण सफल भएको नगरपालिकाले जनाएको छ । फ्रिक्वेन्सी मोडुलरको माध्यामले बाँदरलाई अत्यन्त झ्याउ लाग्दो आवाज निस्कने गरी बाँदर धपाउने यन्त्र बनाइएको नेपाल स्मार्ट इनोभेसन रोवो जुनियर कार्यक्रमका प्रशिक्षक ईन्जिनियर सृजन सुवेदीले जानकारी दिए ।

“सानो आकारको उक्त यन्त्रमा बाँदरलाई अत्यान्तै झ्याउ लाग्ने खालको आवाज राखिएको छ ।” नगर प्रमुख दीलिपप्रताप खाँणले भने, “जुन आवाज मानिसका लागि मसिनो हुन्छ, तर बाँदरका लागि भने ठूलो र दिक्क लाग्ने खालको हुन्छ ।” बाँदर उक्त आवाज आउने स्थानमा बस्नै नसक्ने नगर प्रमुख खाँणले बताए ।

“एउटा यन्त्रको झण्डै ५ सय मिटरसम्म आवाज पुगेर गुन्जन्छ ।” प्रशिक्षक ईन्जिनियर सुवेदीले भने, “सानो स्टिकर आकारमा (एकदेखि डेढ वर्गाकार फिटमा) रहेको उक्त यन्त्रमा बिजुली तथा ब्याट्रीको प्रयोगले आवाज लिकाल्न सकिन्छ, भने यन्त्रलाई पानीबाट जोगाएर राख्नु पर्छ ।”

कक्षा ५ देखि ९ सम्मका अध्ययरत इच्छुक छात्रछात्रालाई विज्ञान र प्रविधिबारे प्रशिक्षण दिँदै भविष्यमा वैज्ञानिक उत्पादन गर्ने लक्ष्यसहित नगरपालिकाले गत वर्षदेखि नगरपालिका परिसरमै इनोभेसन सेन्टर संचालन ल्याएको छ । जहाँ ५० छात्रछात्रालाई प्रशिक्षणमा दिदै आईएको छ ।

“नगर क्षेत्रका ७ विद्यालयमा अध्ययनरत ५० विद्यार्थीले आधारभूत र एडभान्स स्तरका सैद्धान्तिक, व्यवहारिक र अनुसन्धानात्मक प्रशिक्षण लिँदै आएका छन् ।” नगर उपप्रमुख कल्पना तिवारीले भनिन्, “शनिवारका दिन ३/४ घण्टाको कक्षा संचालन हुन्छ, छात्रछात्राको क्षमता अनुरुप एकदेखि तीन वर्षे कोर्स राखिएको छ ।”

नेपाल स्मार्ट इनोभेसन रोवो जुनियर कार्यक्रम अन्तर्गत इन्जिनियरहरू सृजन सुवेदी, सरद तिवारी, अशोक धमाला र सिद्धान्तप्रताप खाँणले छात्रछात्रालाई प्रशिक्षित गराउँदै आएका छन् । उक्त कार्यक्रम नगरपालिकाकै लागनीमा गत वर्षदेखि संचालनमा आएको नगर उपप्रमुख तिवारीले बताईन् ।

जिल्लाका सबै तहमा बाँदरबाट स्थानीयबासी हैरान बनेका छन् । बाँदरकै कारण अधिकांश खेतबारी बाँझै छन् । खेतबारीमा लगाइएका अन्नपात, फलफूल र तरकारी केही रहदैन्न । बाँदरले घरभित्रै पसेर अन्नपात नोक्सानी गर्दै आएका छन्, भने बाँदरले सताएकै कारण गल्याङ नगरपालिका १० स्थित डुबिन्डाँडाको एउटा बस्ती बसाईँ सर्न बाध्य भएको छ । 

Comments