पर्यटन परिषदको रोपाईं महोत्सव विरुवाफाँटमा
Posted on: Jun 24, 2019

विनोद लामिछाने

असार ९ पोखरा ।  पोखरा पर्यटन परिषदले अर्षेनि गर्दै आएको रोपाई महोत्सवको १६ औं असारे रोपाईं महोत्सव पोखराको महतगौंडा स्थित विरुवाफाँटमा असार १५ गर्ने भएको छ ।‘पोखरा सबै मौषमका लागी’ भन्ने नाराका साथ हरेक वर्ष फरक फरक ठाउँमा गरिदै आएको महोत्सव यस वर्ष पोखरा महानगरपालिका १७ महतगौडा विरुवाफाँट विसखेत स्थित ऋषिराम भण्डारीको ४ रोपनी खेतमा महोत्सव गर्न लागिएको हो ।

महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धनमा सघाउ पुग्ने आयोजकले आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
अफसिजनमा पनि यहाँको पर्यटनलाई चलाएमान बनाउने उद्धेश्यका साथ परिषदले २०६१ बाट पोखराका विभिन्न ठाउँमा रोपाईं महोंत्सव गर्दै आइरहेको परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणि लामिछानेले रोपाई महोत्सवले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा परिचित गराएको जानकारी दिए । यो महोत्सवमा आन्तरिक पर्यटकहरु समेत आकर्षित हुने गरेको लामिछानेले बताए । 

महोत्सवमा हलगोरु दौड, विभिन्न आमा समुह बिच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता रस्सा कसि लगायतका प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सव सम्पन्न गर्न १३ लाख १० हजार खर्च लाग्ने र महोत्सवमा विदेशी करिव ५ सय र नेपाली झण्डै ३० हजार दर्शकले सहभागिता जनाउने आयोजकको अनुमान रहेको छ । पोखरा पर्यटन परिष्दका महासचिव दिल गौतमले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा सह–संयोजक शंकर भट्टराईले स्वागत गरेका थिए । 

Comments