​स्वास्थ्यका लागि ब्यायामशाला आवश्यक ः मेयर जि.सी.
Posted on: Jul 06, 2019

पोखरा, २१ असार । पोखरा महानगरपालिका वडा नं. १४ मनकामना टोलमा मनोहर युवा क्लबले निर्माण गरेको मनोहर पार्कमा स्थापना गरिएको ब्यायामशालाको शनिवार उद्घाटन गरिएको छ । 
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सी.ले ब्यायाशालामा रिबन काटेर उद्घाटन गरेका हुन् । प्रमुख अतिथि जि.सी. ले स्वस्थ जीवनका लागि ब्यायामशाला आवश्यक रहेको बताएका छन् । उनले समय परिवर्तन सँगै मान्छेको जीवन व्यवसायिक रुपमा व्यस्त हुँदै गएको छ भने अर्काेतिर पहिलोको जस्तो खुला चौरहरु पनि मासिदै गएको अवस्थामा ठाउँठाउँमा व्यायामशाला स्थापना गरी आफ्नो समय मिलाई दिनको न्यूनतम आधा घण्टा मात्र इक्ससाइज गरेमा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताए । मेयर जि.सी.ले अहिले पोखरा महानगरपालिकाको करिव १५ स्थानमा व्यायामशाला स्थापना गरिएको र विस्तारै सबै वडामा राख्दै जाने महानगरपालिकाको योजना रहेको बताउँदै ब्यायामशालाको उचित व्यवस्थापन र सञ्चालन गर्नु पर्ने बताए । 
क्लबका अध्यक्ष रामजी जि.सी.ले ब्यायाशालाको क्लबले निर्माण गरेको मनोहर पार्कमा स्थापना गर्न पाउँदा खुशी लागेको बताउँदै महानगरपालिकालाई उक्त ब्यायामशालाको सामान उपलब्ध गराएकोमा धन्यवाद दिंदै स्थानीयबासी सबैलाई ब्यायामशालाबाट सक्दो फाइदा लिई स्वस्थ जीवन जिउन समेत अनुरोध गरे । 
कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार जे.वी. कुँवर, सल्लाहकारहरु ललितबहादुर बानियाँ, बोधराज कार्की, रेशम जि.सी., इन्द्रामाया बानियाँ, रामचन्द्र के.सी., कानुनी सल्लाहकार उत्तम के.सी., समाज सुधार आमा समूहकी अध्यक्ष लक्ष्मी जि.सी., मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव बानियाँ लगायतले बोलेका थिए । 
मनोहर क्लबका अध्यक्ष रामजी जि.सी..को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शैलेष बानियाँले र सञ्चालन सचिव रविकिरण पराजुलीले गरेका थिए । 

Comments