​प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बिहीबारबाट
Posted on: Jul 10, 2019

असार २५ पोखरा । पोखरामा भोलीबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु हुने भएको छ । 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा सञ्चालन हुन  लागेको प्रतियोगितामा कुल १ सय ५६ पदकका लागि प्रतियोगितामा १ हजार ४५ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । विभिन्न इभेन्ट, तौल समुहमा गरी ४८ स्वर्ण, ४८ रजत र ६० कास्यपदकका लागि खेलाडीहरु वीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका ९ सय १३ जना खेलाडी र १ सय ३२ जना निर्णायक अफिसियलहरु गरि १ हजार ४५ जनाले सहभागीता जनाउने आयोजकले  बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा भलिबल छात्र/छात्रा, एथलेटिक्स छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, उसु छात्र/छात्रा, कराँते छात्र÷छात्रा, र तेक्वान्दो छात्र÷छात्रा खेलहरु समावेश रहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद २० हजार,रनिङ शिल्ड, दोश्रोलाई नगद १५ हजार ट्रफी र तेश्रो हुनेलाई १० हजार र ट्रफी प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैवीच क्षेत्रिय खेलकुद बिकास समितीले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गर्ने भएको छ । असार २७ गते साँझ एक कार्यक्रका वीच खेलाडीलाई सम्मान गर्ने बताइएको छ । आठौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले १८ स्वर्ण, २५ रजत र ५० कास्य गरी ९३ पदक जितेको थियो । स्वर्णपदक विजेता खेलाडीलाई १० हजार, रजत पदक जित्न सफल खेलाडीलाई ७ हजार, र कास्य पदक विजेता खेलाडीलाई ५ हजार रुपैयाँ सहित सम्मान गरिने छ ।

त्यस्तै प्रतियोगितामा समुह तर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई ७ हजार, ५ हजार र ३ हजार सहित सम्मान गरिने क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए । त्यस्तै प्रथम, द्धितिय र तृतिय हुन सफल टिम खेलका प्रशिक्षकलाई ५ हजार, ३ हजार र २ हजार सहित सम्मानपत्रले सम्मान गर्ने बताइएको छ । खेलाडी सम्मानका लागि गण्डकी प्रदेश सरकारले ११ लाख ७८ हजार ८ सय रुपैयाँ क्षेत्रीय खेलकुद विकास समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । पत्रकार सम्मेलनको सञ्चालन क्षेत्रीय खेलकुद समितिका नायबसुब्बा डिबी नेपालीले गरेका थिए ।

Comments